वडाध्यक्षविरुद्ध आर्थिक अनियमिततासम्बन्धी भ्रष्टाचारको मुद्दा

काठमाडौँ । नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दाको आरोप लगाएको छ । उनीमाथि विशेष अदालतमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा चलिरहेको रहस्य खुलेको छ। निर्वाचित भण्डारीको विशेष अदालतमा २०७६ भदौ २० गतेदेखि मुद्दा चलिरहेको विषयमा सोमबार विदुर नगरपालिका कार्यालयमा उजुरी दर्ता भएको छ।

गठबन्धन दल माओवादी केन्द्रबाट विदुर ९ को वडाध्यक्षमा निर्वाचन हरिराम भण्डारी मुद्दा चलिरहेकै अवस्थामा निर्वाचित भएको उजुरीमा उल्लेख गरेको छ। उनको शपथ ग्रहण रोक्न माग गर्दै सोही वडाका २० जना व्यक्तिहरूले नपा कार्यालयमा ५७५० नं. मा दर्ता गरेको उजुरीमा उल्लेख गरेको छ।

विशेष अदालतमा मुद्दा नं. ०७६ सिआर ००६३ बाट विशेष अदालत काठमाडौंमा रकम हिनामिनाको मुद्दामा सरकारकै तर्फबाट अभियोग दायर भई गत वैशाख २० गते मुद्दा पेसीमा चढी कारबाहीसमेत भण्डारी माथि चलिरहेको उजुरीमा उल्लेख गरेको छ। सोही वडाका शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनबहादुर बोगटी, सीता बोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्दाको विवरणसहित विदुर नपा कार्यालयमा उजुरी पेस गरेका हुन्।

नेपाल सरकार वादी भई गत २०७६ भदौ २० गतेदेखि हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा रकम हिनामिनासम्बन्धी मुद्दा चलिरहेको छ। मुद्दा चलिरहेकै बेलामा वडाध्यक्षमा निर्वाचित भण्डारीको शपथग्रहण रोक्न माग गर्दै वडावासीले उजुरी दिएका हुन्। वडावासीले शपथ ग्रहण रोक्न माग गर्दै उजुरी दिए पनि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।