उपत्यकाका सडकमा थुप्रिएको फोहोर महानगरले केमिकल छर्कन थाल्यो

काठमाडौँ । विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नक थालिएको छ । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको हो ।

सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको छ । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

सिसडोलबासी सँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह र उपप्रमुख सुनिता सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता समेत जनाएका थिए । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।