आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै नेप्सेको यात्रा लगातार ओरालो

काठमाडौँ । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो यात्रामा कायमै छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर २ हजार ६५.८२ अङ्कमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अङ््कमा ओर्लिएको छ ।

नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ । कूल २ सय २८ कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता शेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ भने सात उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ १९.०४, व्यापार ०.१२, होटल तथा पर्यटन १.२४, जलविद्युत् ४.९९, निर्जीवन बीमा ४९.५४, जीवन बीमा १९८.३२ र लगानी ०.२१ अङ्कले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक ११.९३, वित्त ३.३, उत्पादन २१.०९, अन्य १.५९, लघुवित्त २२.६ र सामूहिक लगानी कोष भने ०.०४ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब ४१ अर्ब १४ करोड १३ लाख १७ हजार ६ सय १९ बराबर पुगेको छ । कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३ सय ८७ बराबरको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंक रु ६ करोड ७६ लाख ९४ हजार ६ सय ४१, नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ६१ लाख ९१ हजार ९ सय ११, अरुण भ्याली हाइड्रोपावर ३ करोड ९० लाख २३ हजार १ सय ९० र हिमालयन डिस्टिलरी ३ करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, नारायणी डेभलपमेन्ट बैंक ६.४७, मिथिला लघुवित्त ४.३७ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ३.९० प्रतिशतले कमाएको छ, भने हिमालयन बैंक ९.९९, माहुली लघुवित्त ७.६६, नेपाल लाइफ इन्स्योरेन्स ३.९२, मनकामना स्मार्ट लघुवित्त ३.९२ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाएको छ ।