६ दिनपछि शव पोस्टमार्टम, १३ जनाको नाममा किटानी जाहेरी दर्ता

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । शाहीको शव भेटिएको ६ दिनपछि पोस्टमार्टम भएको हो । राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको नेकपा एमालेले आरोप लगाउँदै आएको छ ।

पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेको छ । जाहेरी दर्ता भएपछि पोस्टमार्टम गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । प्रहरीका अनुसार नवनिर्वाचित जनप्रतिनिधिलगायतको नाममा किटानी जाहेरी दर्ता भएको छ ।

बुधबार दुई जनालाई अनुसन्धानका लागि छानबिनमा तानिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । अनुसन्धानको निष्कर्षनजिक पुगिसकेका छौं । अबको एक हप्ताभित्र अनुसन्धानको अन्तिम नतिजा आइसक्छ मरासेनीले भने । यसअघि पनि प्रहरीले ४ जना र बुधबार २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ ।

विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो । मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् । मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन् । घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ ।