धितोपत्र बजारमा नेप्से परिसूचकको हरियाली एक दिन पनि टिकेन

काठमाडौँ । बुधबार भएको नेप्से परिसूचकको हरियाली एक दिन पनि टिक्न सकेन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार भने उच्च अङ्कले उकालो लागेको थियो । तर, आज भने नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६४ अङ्कले ओरालो लागेर २ हजार ६२.८० मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०१ अङ्कले घटेर ३९६.३६ मा ओर्लेको लागेको छ ।

कूल २ सय २९ कम्पनीको ४१ लाख ५६ हजार १ सय ४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ मूल्यमा खरिद बिक्री भएको हो । बिहीबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ३८ अर्ब ४४ करोड ७८ लाख ७० हजार बराबरको काराबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बाँकी रहेको १२ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । व्यापार २.०६ अङ्कले उकालो लाग्दा बैंकिङ ५.७३, होटल तथा पर्यटन ३९.७१, विकास बैंक ७३.५४, जलविद्युत् ४०.५४, वित्त ३५.९८, निर्जीवन बीमा ६८.२, उत्पादन ४२.६१, अन्य २४.६४, जीवन बीमा २१.३, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ६ करोड ७४ लाख ६९ हजार ३ सय १ बराबरको कारोबार भएको छ । हिमालयन डिस्टिलरी ४ करोड ३२ लाख २२ हजार, अरुण काबेली पावर कम्पनी ३ करोड ९८ लाख ९२ हजार १ सय १०, एशियन लाइफ इन्स्योरेन्स ३ करोड ९८ लाख ८० हजार ८ सय ९३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ९५ लाख ७२ हजार ९ सय ६२ बराबरको कारोबार गरी शीर्ष पाँच स्थानभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनएमबी ५० को ५.२९, मिथिला लघुवित्त ३.९५ र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाउन सफल भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ६.६१, सिंगटी हाइड्रो ५.३४, समिट लघुवित्त ५.०३, इमर्जिङ नेपाल ४.३४ र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४.३० प्रतिशतले गुमाएका छन् ।