मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण

काठमाडौँ । मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माण कार्यले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ, मुस्ताङ, डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो ।

सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो ५ वर्षयता सडक निर्माण कार्य भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिइएका छन् ।

एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुदै ४० किलोमिटर मार्ग खोलिसकेको छ । उनले भने यसपालि १ लाख ८७ हजार घनमिटर कटिङ र ३ हजार ५ सय १० घनमिटर ग्याबियन पर्खाल लगाउन थालिएको छ । २०७८ चैत १७ गते ४ करोड ६४ लाख ८२ हजार २ सय ६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए ।

दुई वटा एक्साभेटर डोजरले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताएका छन् । समुद्री सतहदेखि ४ हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पु¥याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ । 

एघार मिटर फराकिलो सडक निर्माण गर्न लागिएको यो सडकलाई आर्थिक वर्ष ०७६/०७७ मा ११ करोड, ०७५/०७६ मा ४ करोड बजेट विनियोजन भएको थियो । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताउदै हत्पौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने बताएका छन् ।