लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीमाथि सामुहिक बलात्कार चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिएका छन् । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको बताएका छन् ।

प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताएका छन् । प्रहरीले पक्राउ परेका चारै जनालाई मुलुकी अपराध संहिताऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।