सात वटा विधायन व्यवस्थापन समितिका प्रतिवेदन पेश

काठमाडौँ । आजको राष्ट्रिय सभाको बैठकमा विभिन्न सात वटा विधेयकका विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू पेश भएका छन् ।

बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले सार्वजनिक सेवा प्रसारण विधेयक–२०७७, अध्यागमन विधेयक –२०७६, अनुगमन तथा मूल्याङ्कन विधेयक–२०७६ तथा प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक–२०७६ को विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन् ।

सांसद मिश्रले विद्युत् विधेयक ०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक ०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक–२०७७ को विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू पनि सभामा पेश गरेका छन् । सभाको विशेष समयमा बोल्दै सांसद अनिता देवकोटा विकास सहायता लिँदा सामरिक सम्बन्धको प्रश्न नउठ्ने गरी परिपक्व परराष्ट्र नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरे ।

सांसद भगवती न्यौपानेले नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर अगाडि बढ्न चाहन्छ भन्ने कुरा दुवै छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रष्ट रुपमा भन्नुपर्ने बताएका छन् । ।

सांसद खिमलाल देवकोटाले सरकाको आर्थिक गतिविधिहरू पारदर्शी नहुँदा विकास निर्माणका कामले गति लिन नसकेको बताउदै मन्त्रालय र विभागका सम्पूर्ण आर्थिक गतिविधहरु अनिवार्य वेभसाईडमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।