स्थानीय बासिन्दाका लागि पिपुल्स पावरको आइपिओ खुला

काठमाडौँ । स्थानीय बासिन्दाका लागि पिपुल्स पावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ६ करोड ३२ लाख ६० हजार मूल्य बराबरको ६ लाख ३२ हजार ६ सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बिक्री खुला गरेको हो ।

कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७ सय ८० कित्ता र ती वडा बाहेक जिल्ला बासिन्दाका लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ । आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम लगानीकर्ताले शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको छ ।

कम्पनीले इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी गराएको छ ।