चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार पक्राउ

काठमाडौँ । चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका ५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका ५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका १ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्‍वर नगरपालिका ५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई गंगाजमुना फार्मेसीबाट बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट,  ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।