उद्योगीद्वारा अर्थमन्त्रीको राजीनामा माग्दै, कर कार्यालय घेराउ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको मााग गर्दै सडक सङ्घर्षमा उत्रिएका छन् । शुक्रबार विराटनगरका उद्योगी व्यवसायीले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय घेराउ गरेका छन् । विरोध र्‍याली निकाल्दै ट्राफिक चोकस्थित कर कार्यालय अगाडि भेला भएका उद्योगी व्यवसायीले सीमित उद्योग पोस्न अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोप लगाए ।

अर्थमन्त्री शर्मा एउटा उद्योगलाई पोस्नका निम्ति ९० करोड रुपैयाँमा बिकेको समाजवादी ट्रेड युनियनका मोहमत नसरुलले आरोप लगाएका छन् । नत्र यत्रा उद्योगी र मजदुर सडकमा उत्रिँदा किन अर्थमन्त्री चुपचाप लागेको छ । अर्थमन्त्रीले राजीनामा नदिए आइतबारबाट राजमार्ग बन्द गर्ने आफूहरूको तयारी रहेको उनले बताए ।

नेपाल उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले अर्थमन्त्रीसँग आफूहरूले बारम्बार छलफल गरेको सुधार गर्ने भनेर आश्वासन दिएको, तर उद्योगीका माग सम्बोधन नगरिएको आरोप लगाएका छन् । निरन्तर सडक सङ्घर्ष गरिरहेका उद्योगीले आइतबारबाट राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् ।

कर कार्यालय अगाडि भएको विरोध सभामा बोल्दै नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एकका अध्यक्ष भीम घिमिरेले राम्रा आश्वासन दिने, तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति अर्थमन्त्रीमा देखिएको बताए । घिमिरेले आफ्ना माग पूरा नहुन्जेल सडक सङ्घर्ष गरिरहने बताएका छन् ।

आर्थिक विधेयकले जीआई वायर, वनस्पति घिउ, खाने तेल, सेनिटरी प्याड तथा यार्न उत्पादन गर्ने उद्योगीलाई ठूलो मर्का परेको भन्दै उद्योगीले सच्याउन माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवन शारडाले सरकार आफैँले उद्योगीलाई सडकमा आउन बाध्य बनाएको बताए ।

उद्योगीको आन्दोलनमा मजदुर सम्बद्ध ट्रेड युनियनहरूले पनि साथ दिएका छन् । विरोधसभामा जिफन्ट प्रदेश एकका अध्यक्ष किशोर धिमालले गठबन्धनको परमादेशको सरकारले उद्योग र मजदुरमारा नीति लिएको बताए ।