तात्कालीन प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तात्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६६ लाख रुपियाँको भ्रष्टाचारको आरोप लगाएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेढाईले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरपालिकाका कर्मचारीको संलग्नतामा बालगंगा खोलाको गिट्टी, बालुवा उत्खनन् एवम् बिक्री वितरण कार्य गर्न दिएको आरोप लागेको हो।

आर्थिक वर्ष २०७६ र ७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिम अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५ सय १० रुपियाँ दाखिला गरेको नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख गरेको छ। यसैगरी, उपमहानगरपालिका १६ मा अवस्थित पसाहा खोलाको गिट्टी, बालुवा उत्खननका लागि ओम सप्लायर्सलाई ठेक्का दिएर गैरकानुनी कार्य गरेको आरोप सेढाईमाथि लागेको छ।

सोही आर्थिक वर्षमा सम्झौता अनुरुपको बाँकी दुई किस्ताको रकम ९९ लाख ९९ हजार ९ सय ९९ रुपियाँ हालसम्म दाखिला हुन नसक्दा उपमहानगरको राजस्व चुहावट भएको देखिएको आयोगले ठहर गरेको छ।

सम्झौता रकमको मूल्य अभिवृद्धि कर ३८ लाख ९९ हजार ९ सय ९९ रकमसहित सो खोलामा १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपियाँ पसाह खोला सम्झौतामा भ्रष्टाचार भएको आयोगले जानकारी दिइएको छ । आरोपित सेढाईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ ।