उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री खाणले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले चौबिसै घण्टा सेवा दिनेगरी काम अघि बढाइने बताएका छन् । उनले भने पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिनेगरी काम गर्ने वातावरण सरकारले मिलाउने बताएका छन् ।

मुलुकको पश्चिम क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउँदै सिद्धबाबामा सुरुङ र दाउन्ने सडकको विस्तारको कामलाई सरकारले प्राथमिकता राखेको बताए । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने मन्त्री खाणले धारणा व्यक्त गरेका छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुुलुकको विकास हुने अपेक्षा रख्दै निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको गुनासो गरे । उनले राज्यले उद्योगीले भोगिरहेका समस्याको समाधान गरी सबै व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले बुटवल मोतिपुर औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्रको व्यवस्थापन जरुरी तथा गुल्मीको कफी, रोल्पा रुकुम र प्युठानको जडीबुटीको औद्योगिकरणमा राज्यले ध्यान दिनु आवश्यक रहेकामा जोड दिएका छन् ।