उपत्यकामा दुई दिन फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ । आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यमा प्रभावित हुने भएको छ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले उपत्यकाको फोहोर दुई दिनको लागी प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता रहेको छ ।

वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले काठमाडौँ महानगरपालिका वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जानकारी दिइएको छ ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।

सामान्य अवस्थामा प्रतिदिन ३ सय सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । बर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १ सय गाडीले मात्र फोहर व्यवस्थापन हँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको बताए ।

काठमाडौँ महानगरपलिकाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिने जानकारी गराएकोृ छ ।