सोमबार रातिदेखि आएको अविरल वषाले एक सय ६० घर उच्च जोखिममा

काठमाडौँ । झापामा सोमबार रातिदेखि आएको अविरल वषाले नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका ५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।

कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ । खोलामा पानीको बहाव बढेपछि घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ । वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जानकारी गराएको छ ।

गौरादह–६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् । यता रतुवा खोलाले गौरादह, ५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६ को लेलिया डाँगीमा १ सय २५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्ती सुकुम्बासी बस्तीमा कमल, बनियानी खोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १ सय ६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जानकारी गराएको छ ।