नेप्सेको पहिरो थामिएन, आज पनि ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर १ हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ । कूल २ सय ३० कम्पनीको ३० लाख ३७ हजार ६ सय ३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुईको शेयर मूल्य उकालो लागेको छ । ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ०.२९ र जीवन बीमा उपसमूह ९६.९ अङ्कले उकालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ३९ अर्ब ३१ करोड ५ लाख ३ हजार ९ सय ९८ बराबर कारोबार भएको छ । कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७ करोड ३१ लाख ३३ हजार २ सय ५६ बराबरको कारोबार गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन ५ करोड ४३ लाख ८७ हजार २ सय ६०, नागरिक लगानी कोष ५ करोड ३४ लाख ५४ हजार ८ सय ३७, नेपाल पुनरबीमा कम्पनी ४ करोड ३७ लाख ८३ हजार र न्यादी ग्रुप पावर ३ करोड ५१ लाख ९२ हजार ६ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा सिवासी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त ७.७४, कृषि विकास बैंक ५१०, सन्राइज फस्ट म्युचुअल फण्ड ५.०६ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतले कमाएको छ ।

त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ५.७३, जनरल इन्स्योरेन्स कम्पनी ४.७५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.७०, सिंगटी हाइड्रोपावर ४.४५ र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.४० प्रतिशतले गुमाएको छ ।