५० हजार परिवार बाढीको जोखिममा

काठमाडौँ । चितवान जिल्लामा बाढी पहिरोबाट ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका ७ पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उनले जानकारी दिएका छन् ।

यस्तै माडी नगरपालिकाका ४ हजार ५ सय परिवार, रत्ननगरका ५ हजार, कालिका नगरपालिकाका १ हजार ५०, खैरहनी नगरपालिकाका ३ सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्थामा छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३ सय, कालिकाका १ सय , राप्तीका २ सय तथा इच्छाकामना गाउँपालिकाका १ सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिइएको छ ।

बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गरेका छन् । नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको अधिकारी तामाङले बताएका छन् ।