बैंकिङ कसुर मुद्दामा फरार विष्णुमाया पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका, ५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर, ८ बस्ने ४२ वर्षीया विष्णुमाया योन्जन रहेकी छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने विष्णुमाया बिहीवार टेकुबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले योन्जनलाई पक्राउ गरिएको जानकारी दिए । उच्च अदालत पाटनले पक्राउ परेकी योन्जनलाई विसं. २०७९ जेठ २७ गते तीन दिन कैद र ७० लाख रुपियाँ जरिवाना हुने फैसला गरेको थियो ।

अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय एैन, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो । पक्राउ गरिएको योन्जनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौं पेश गरिएको प्रवक्ता महतोले बताएका छन् ।