वन्द भईसकेको आईडियल स्कूल चारित्रिक प्रमाण विक्री गर्दै

काठमाडौं । विद्यालय व्यापारिक केन्द्र बन्न थालेपछि त्यहाँ शिक्षा सहज रुपमा पाइन्छ भन्ने कुरामा धेरै नै आशंका गर्न सकिन्छ । पछिल्लो समयमा शिक्षामा नाममा विद्यालयहरुले व्यापार गरिरहेको देख्न सकिन्छ । शिक्षा विभाग, शिक्षा मन्त्रालय र शिक्षासँग सम्वन्धित सरोकारवाला निकाय समेत साना तिना स्वार्थमा भुलेर मौन बसिदिएकाले पछिल्लो केही वर्ष यता विद्यालय शिक्षा प्रवाह गर्ने मन्दिर नभएर सुपर मार्केट बन्न थालेको देखिन्छ ।

काठमाडौंको चावहिल स्थित आईडियल बोडिङ्ग स्कूल सञ्चालन वन्द भएको केही वर्ष भईसकेको छ । स्कूलवन्द भएका कारण त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुले चारित्रिक प्रमाण पत्र समेत पाउन सकेका थिएनन् । अहिले भने तात्कालिन विद्यालयकी प्रिन्सिपल बताउने रेनु लामाले त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुको चारित्रिक प्रमाणपत्र चर्को मूल्यमा विक्री वितरण गर्न थालेकी छिन् ।

स्कूल वन्द गरेर हिंडेका सञ्चालक तथा व्यवस्थापनका कारण विद्यार्थीहरुले चारित्रिक प्रमाण पत्र पाउन सकेका थिएनन् । अहिले तात्कालिन प्रिन्सिपल लामा फेला परेपछि विद्यार्थीहरुले आफूहरुको चारित्रिक प्रमाण पत्र उपलब्ध गराई दिन आग्रह गर्दा उनी यो वा त्यो वहानामा चर्को मूल्य असूल्ने धन्दामा लागेकी छिन् । आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको चारित्रिक प्रमाण पत्र न्यूनतम शुल्कमा विद्यालयहरुले उपलब्ध गराउने गरिएको भएपनि लामाले भने विद्यार्थी हेरेर ९ हजारदेखि माथि जति पनि असुल्दै आईरहेकी छिन् ।

उनले चारित्रिक प्रमाण पत्र उपलब्ध गराउने नाममा विद्यार्थीहरुसँग चर्को शुल्क लिएपछि पीडित विद्यार्थीहरुले उनको विरुद्ध शिक्षा कार्यालयमा उजुरी गरेको भए पनि अहिलेसम्म खासै सुनुवाई भएको देखिँदैन । लामाले शुल्क लिएको विल समेत नदिएर सिँधै आफ्नो वैक खातामा रकम डिपोजिट गरेपछि मात्र चारित्रिक प्रमाण पत्र बनाइदिने गरेको प्रमाण इकालोपाटीलाई फेला परेको छ ।

सो विषयमा सञ्चालनमा नरहेको आईडियल स्कूलकी तात्कालिन प्रिन्सिपल रेनु लामाले विद्यार्थीहरु विदेश जाने प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र मागेकाले आफूले विद्यालय वन्द भएपनि उपलब्ध गराईदिएको बताईन् । चारित्रिक प्रमाण पत्र उपलब्ध गराउनु विद्यालयको काम भएको भएपनि स्कूल वन्द भईसकेको अवस्थामा आफूले विद्यार्थीहरुलाई सहजीकरण गरिदिएको बताउँछिन् । लामाले सहजीकरणका नाममा गैरकानूनी ढंगले विद्याथीहरुलाई ठगी गरिरहेकी छिन् । लामाले चारित्रिक प्रमाण पत्रको आवश्यकता हेरेर विद्यार्थीसँग ९ हजार देखि २५ हजारसम्म लिने गरेको स्वीकार गरेकी छिन् ।

आइडिइल स्कूलकी तात्कालिन प्रिन्सिपलले घरमा बसेर यसरी चारित्रिक प्रमाण पत्र विक्री गरिरहेकाले शिक्षा विभाग, अनुसन्धान व्यूरोले कार्वाही गर्न ढिला सुस्ती गरिरहेको पीडित विद्यार्थीहरुले आरोप लगाएका छन् ।