उत्तरपूर्वी शहर नेवार्कमा गोली चल्दा ९ जना घाइते

काठमाडौँ । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको सिन्ह्वाले जनाएको छ ।

गोलीबारी क्लिन्टन प्लेसको २ सय ब्लकमा साँझ ६ र २० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । उक्त घटनामा पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।

घटना बारे नेवार्क प्रहरी विभाग द्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो।