सिन्धुलीमा झोलुङ्गे पुलको निर्माणले स्थानीयवासी खुसी

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका ३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् ।

वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका त्यस क्षेत्रका ५ सय २२ घरपरिवारका स्थानीय बासिन्दा पुल निर्माण सुरु हुन थालेपछि खुसी भएका हुन् । तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । पुल नहुँदा सिन्नेरी बरुण र भित्री भलायोका नागरिकले धेरै नै दुःख पाएको वडा नं ३ का वडाध्यक्ष जीतबहादुर श्रेष्ठले बताएका छन् ।

वर्षात्को समयमा आफूले वडाका नागरिक स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक सेवा लिनबाट समेत बञ्चित हुनुपरेको भन्दै उनले भन्नुभयो, “पुल निर्माण समयमा नै सम्पन्न गर्न स्थानीयवासीले दबाब दिँदै आएको छ । पुल नहुँदा सुत्केरी महिला, बिरामीलाई स्वास्थ्य संस्थामा जानसमेत समस्या हुने गरेको छ ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले झण्डै रु १ करोडको लागतमा पुल निर्माण सम्पन्न हुने जानकारी दिएका छन् । सङ्घीय झोलुङगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु ९६ लाख ८० हजार ९ सय ४३ को लागतमा पुल निर्माण हुने उनले जानकारी दिए ।

पुल निर्माणका लागि गाउँपालिकाको १३ प्रतिशत, समुदायबाट २ प्रतिशत, सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ७७.२० प्रतिशत, सङ्घीय झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम लठ्ठा बुल्डग्रिप थिम्बल्स आदिबाट ७.२० प्रतिशत खर्च व्यहोर्ने गरी पुल निर्माण सुरु भएको हो । झोलुङ्गेपुल निर्माणपछि त्यस क्षेत्रमा रहेका ५ सय २२ घरपरिवारका ३ हजार ६ सय १२ बासिन्दा प्रत्यक्ष लाभाविन्त हुने उउले बताएका छन् ।