सामूहिक हत्याकाण्डः ४ जनालाई आजीवन कैद, बालकलाई दुई तिहाई मात्रै

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकिएको छ।

जिल्ला अदालत संखुवासभाले हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिएका छन् । श्रेस्तेदार गौतमका अनुसार एक नावालक प्रतिवादीको हकमा भने २५ वर्षको दुई तिहाई कैद सजाय सुनाइएको छ। साथै जनही २ लाख क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ ।

२०७८ भदौ २१ गते बिहान एकैपरिवारका ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो।

सो प्रकरणमा प्रहरीले मुख्य आरोपी २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र नरेश कार्कीलाई नियन्त्रणमा लिएको थियो। नरेश र रणबहादुर मुख्य आरोपी लोकबहादुरका भाइ र बुबा रहेका छन् । जसमा बालक भनिएका नरेशलाई करिब १६ वर्ष र अन्यलाई आजीवन कारावासको फैसला सुनाएको छ ।