तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

काठमाडौँ । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयवासीले भने पनि ती महिलाको परिचय खुलेको थिएन । जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो ।

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले बालकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेका छन् । खातुनलाई बालकसहित प्रहरीले पक्राउ छ । खातुनले आफ्नै घरमा बालकलाई लिएर लुकीरहको विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिइएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जानकारी छ । पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले बताएका छन् ।