साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

काठमाडौँ । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिइएका छन् ।

विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका छन् । चान्द्रमास अनुसार यस वर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो ।

साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउने भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ । यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ ।
पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जानकारी गराएको छ ।

धार्मिक संस्थाहरुको आयोजनामा यस वर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जानकारी दिइएको छ । साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १ सय जना कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जानकारी दिइएको छ ।