नेपाल मौद्रिक नीति बजेटभन्दा कसरी फरक छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रवार अपराह्ण आर्थिक वर्ष २०७९र८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। प्रत्येक वर्ष बजेट सार्वजनिक भएको केही समयपश्चात् केन्द्रीय ब्याङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ।

मौद्रिक नीतिले सरकारको आर्थिक लक्ष्य प्राप्त गर्नका लागि नीतिगत स्पष्टता उपलब्ध गराउने जानकारहरू बताउँछन्। तर के तपाईँलाई मौद्रिक नीति के हो र यो कसरी तर्जुमा हुन्छ भन्ने कुरा थाहा छ।

के हो मौद्रिक नीति ?

कुनै पनि राष्ट्रका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोतमा वित्तीय स्रोत पर्छ। त्यो स्रोतलाई मुलुकको उत्पादन, रोजगारी अनि वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई पनि बलियो बनाउने उद्देश्य लिएर निर्माण गरिने नीति नै मौद्रिक नीति रहेको नेपाल राष्ट्र बैङ्कका भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन्।
यसले ब्याज दरको कुरा गर्छ र विनिमय दरको विषयमा पनि केही कुरा गर्छ। सबै कुरालाई सञ्चालन गरेर अर्थतन्त्र सहज रूपमा सञ्चालन गर्नको निमित्त अनुकूल वातावरण बनाइदिने लक्ष्य मौद्रिक नीतिको हो,उनले भने।
अर्थविद् केशव आचार्यका अनुसार सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ। त्यसले गर्दा केन्द्रीय ब्याङ्कले सार्वजनिक गर्ने यो नीतिले परोक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ। मौद्रिक नीतिले वस्तु अथवा सेवाको स्थायित्व प्रदान गर्न खोज्छ,ू आचार्यले भने।

पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोरजस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ। अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने जानकारहरूको भनाइ छ।

कुनै व्यक्तिले ब्याङ्कबाट ऋण लिए, कारोबार गरे वा बचत ब्याङ्कमा निक्षेप गर्दा तय हुने ब्याज दर सबैमा मौद्रिक नीतिको प्रभाव हुन्छ। त्यस्तै मुद्रास्फीति अर्थात्‌ बजार महँगीमा पनि मौद्रिक नीतिको भूमिका उल्लेख रहने मानिन्छ।