पुष्पलाल कै प्रेरणाले एमाले सवल बन्न सफल भएको ओलीको भनाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिनुभएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताएका छन् ।

४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए ।

अध्यक्ष ओलीले पुष्पलालले पुर्‍याउनुभएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी गरे ।
कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचलित नभईकन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उनले पुनः दोहोर्‍याए ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भने “अग्रजलाई सम्मान गरिरहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।” उनले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदानको प्रेरणा लिएर अघि बढ्नु आग्रह गरे।
पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उहाँले पुर्‍याएको योगदानको स्मरण गरेका थिए ।