साताको अन्तिम दिन नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २ हजार १ सय १३ दशमलव ५५ अङ्कमा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ८० अङ्कले ओरालो लागेर ४ सय ६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयर २ अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९ सय ४८ मा खरिद बिक्री भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५ सय ९ बराबर रहेको छ । 

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंक रु १४ करोड १४ लाख १४ हजार ३ सय ४७, हिमालयन डिस्टिलरी ९ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी ५ करोड ६७ लाख ८० हजार १ सय ४० र अरुण काबेली पावरको ५ करोड ६० लाख १३ हजार ५ सय २५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव१४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाउन सफल भएको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुहेयश्वरी मर्चेन्ट बैंक ६ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर छ दशमलव ३७, सामलिङ पावर कम्पनी पााच दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन् ।