गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

काठमाडौँ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको छ ।

उक्त अवसरमा मन्त्री विश्वकर्माले गोष्ठीको उद्‌घाटन गर्दै पछिल्लो समय अपराधका स्वरूप फरक, फरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताए ।

समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा नेपाल प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताए । उनले भने, ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास भएमा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई उनले निर्देशन समेत दिइएका छन् ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित राज बाँस्तोलाले गोष्ठीका उपलब्धीलाई कार्यान्वयन गर्न सके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताए ।

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समेत आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ आफ्नो कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरिएका नविन प्रयोगहरूको विषयमा प्रस्तुतिकरण गरेका थिए । अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा र अनुसन्धान सम्बन्धी नविन कानुनी व्यवस्था र अभ्यास लगाएतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।