डायलायसिस मेसिन आयो, जडान भएन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मेसिन दाङ आइसकेका छन् ।

साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए । मेसिन आएपनि अन्य सामग्री नआएको उनको भनाइ छ । रगत सफा गर्ने उपकरण आउनुपर्ने उनले बताए । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उनले भने, “प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।”

हाल राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छ । जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप ८ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताए ।

सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् । पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाइरहेका छन् ।

अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका अधिकारी भट्टराईले बताएका छन् ।