रुपन्देहीमा ट्राफिक प्रहरीले थाल्यो तीव्र गतिमा चल्ने सवारीलाई कारबाही

काठमाडौँ । रुपन्देही जिल्लामा ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा चलाउने सवारी चालकमाथि कारबाही थालेको छ । ओभर स्पिड डिटेक्सन “राडार गन”ले तीव्र गतिमा चलाउने सवारी साधनलाई कारबाही गर्न थालेको हो । करिब एक किलोमिटर टाढाबाट नै तीव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ ।

राडार गनले तीव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेटसहितको फोटो खिचेर यसको गतिसहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागि सवारी धनीले लैजान सक्ने व्यवस्था रहेको छ ।

सडक विभागको मापदण्ड अनुसार राजमार्गमा अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन पाइन्छ । त्यो भन्दा बढी गतिमा चल्ने सवारी साधनलाई प्रहरीले कारबाही अभियान नै चलाएको छ ।

जिल्लामा हुने दुर्घटनामध्ये सबैभन्दा बढी तीव्र गतिको कारण हुने भएकोले तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले यो अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख केशव केसीले जानकारी दिइएका छन् । “जिल्लामा भएको दुर्घटनाको करिब ९० प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएको देखिएको छ ।” ट्राफिक प्रहरी निरीक्षक केसीले भने, “तीव्र गतिका कारण हुने दुर्घटना कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर गरेको छलफलपछि प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट यो राडार गन माग गरिएको हो ।”

अभियान लागू गर्नु पूर्व स्थानीय सञ्चारमाध्यमहरुबाट यसबारे जानकारी गराइएको उनले बताए । अहिलेलाई सचेत गराउनका लागि पाँच सय रुपियाँ मात्र जरिवाना काट्ने गरेको केसी बताए । साउन २४ गतेदेखि सुरु गरिएको अभियानको पहिलो दिन ३२ जना, दोस्रो दिन ३८ जना र तेस्रो दिन २६ गते ४९ जनालाई तीव्र गति चलाएको कारण कारबाही स्वरुप जरिवाना गरिएको केसीले बताए । यसलाई पनि अटेर गरी तीव्र गतिमा सवारी चलाए जरिवाना बढाउँदै लैजाने उनको भनाइ छ ।

तीव्र गतिकै कारण जरिवानामा परेका गुल्मीका दिपक पोखरेलले आफ्नो जिउ ज्यानको सुरक्षाको लागि ट्राफिक खटिएको बताउँदै यसको प्रशंसा गरे । “ट्राफिक प्रहरीले यतिको प्रयास गर्दा पनि हामी अझै सचेत हुन सकिरहेका छैनौं, गल्ति हाम्रै हो”–पोखरेलको गुनासो छ । “अहिले प्रहरीको यो अभियान सकारात्मक छ, यसले हाम्रै सुरक्षा हुने हो, तर यसलाई निरन्तरता भने दिनु आवश्यक छ ।”

रुपन्देहीमा गत आर्थिक वर्षमा १७२ वटा दुर्घटनामध्ये १५२ वटा दुर्घटनाहरु तीव्र गतिकै कारण भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । यसले तीव्र गतिमा सवारी चालकलाई मात्र हैन अन्य चालक, पैदलयात्रीलगायतलाई पनि जोखिम भएकोले तीव्र गतिमा सवारी नचलाउन प्रहरीले अपिल गरेको छ ।