शितल निवास अगाडि निहारिकाको आत्मदाह प्रयास

काठमाडौं । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै कुमारी आमा निहारिका राजपुतले शितल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले बचाउन सफल भएको छ । शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो।

यसअघि उनले न्याय नपाएको भन्दै बसन्तपुर र माइतिघरमा लामो समय अनसन बसेकी थिइन्। निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो। सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन्। तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्।

उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ ।​ निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै शरीरमा पेट्रोल खन्याइन् । र, शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए ।