विद्युत्का २ सय ७१ सेवाग्राही कालोसूचीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २ सय ७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट रु ७९ लाख ३९ हजार ६ सय ९० बक्यौता उठाउन बाँकी छ ।

केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ । कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिइएका छन् ।

कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३ सय ५० सेवाग्राही रहेका र तिनबाट वार्षिक रु १८ करोड ८९ लाख १० हजार ८ सय १५ युनिट विद्युत् खपत हुँदा वार्षिक १ अर्ब ९४ करोड ८१ लाख ८३ हजार महसुल उठेकोे छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने १ हजार ७ सय ४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये १ हजार ५ सय ४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिइएका छन् । लाइन काटिएका सेवाग्राहीबाट रु चार करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयको भनाइ छ ।