निर्वाचन लोकतन्त्रको जीवन पद्धति : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय समाचार समितिले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गरे ।

“विश्वसनीयताको अर्को नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन । यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस् । सूचना बैङ्कका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस् । त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन ।” राससका व्यवस्थापक, सम्पादक र समाचारदाता सहभागी कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र, मानवअधिकार, विकास, समृद्धि र निर्वाचनजस्ता हरेक सवालका घटनालाई नियाँलेर लिपिबद्ध गर्ने रासस नेपालको एक जिउँदो इतिहास बोकेको संस्था हो । देशभरिका प्रतिनिधिको सञ्जाल परिचालन र केन्द्रमा निर्वाचनसम्बन्धी डेस्क खडा गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारीरुपमा पस्कन तपाइँहरु लाग्नुहोला ।”

स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरु स्वतः अन्त्य हुनाका साथै  संविधान र कानुनले तोकेबमोजिम पाँचवर्षे कार्यावधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र सङ्घीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो । 

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका प्रमुख आयुक्त थपलियाले भने, “जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । मतदाताले चुन्न पाउने यो लोकतन्त्रको सुन्दर पक्ष र अवसर हो । यसलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व हो । मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी हामीले स्थान दिन सक्नुपर्छ ।”

आउने निर्वाचनका लागि मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गरिने र मतदानस्थल तथा केन्द्रहरुको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने जानकारी दिँदै उनले निर्वाचनका क्रममा सञ्चारमाध्यमको दुरुपयोग हुने, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत हुन सक्ने हुनाले त्यसलाई नियन्त्रण गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

प्रमुख आयुक्त थपलियाले कसैले बोलेका कुरा भन्दैमा त्यो आम नागरिकमाझ दिन लायक छ÷छैन भन्ने आँकलन नगरी निश्चित उम्मेदवार, दल वा अमुक सञ्चारमाध्यमलाई मात्र लाभ हुने गरी सामग्री प्रस्तुत गर्न नपाइने स्पष्ट पारे । 

स्थानीय निर्वाचनका समयमा केही समाचारका उदाहरण प्रस्तुत गर्दै उनले अपुष्ट तथ्याङ्क वा सुनेका भरमा मनमा बुनेर समाचार लेखिनु गलत भएकाले त्यसतर्फ सचेत हुन आग्रह गर्दै निर्वाचनका लागि सबै दल र उम्मेदवारलाई बराबर स्थान दिने सिद्धान्त दिइनुपर्ने पनि बताउनुभयो । राससकर्मी र पत्रकारहरु दलीय राजनीतिक आबद्धता हुन नहुने र त्यस प्रकारको सङ्केत हुने खालका समाचार पनि दिन नहुने प्रमुख आयुक्त थपलियाले स्मरण समेत गराए ।