प्युठानबाट चुनाव लड्न वामदेवले बर्दिया छोड्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् ।

गौतमले आगामी प्रतिनिधिसभाको चुनाव प्युठानबाट लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गरेको छ । त्यही हुन्छ होला’, उनी निकट स्रोतले जानकारी गराएको छ । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८ सय ७७ छ । सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेसको २१ हजार ५ सय ६४, माओवादी केन्द्रको १७ हजार १ सय ६३, राष्ट्रिय जनमोर्चाको १३ हजार ६ सय १२ र एकीकृत समाजवादीको १ हजार ४ सय १७ मत छ । सत्ता गठबन्धनका दलहरुको मत जोड्दा नेकपा एमालेको भन्दा बढी हुने भएपछि वामदेवले प्युठानमा आफू सुरक्षित हुने ठानेका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।

उनी ०७० मा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।