सांसदको जिज्ञासा : राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

काठमाडौँ । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराए ।

विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसद लालबाबु यादवले गुनासो गरेका छन् । पाँचथरको रङ्गशाला निर्माणमा भइरहेको ढिलाईप्रति सांसद वसन्त नेम्वाङले तत्काल बजेटको प्रबन्ध गर्न माग गरे । सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र  बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गदैउनीहरुले पुनः छलफल गरेर राष्ट्रिय सहमतिसहित नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह समेत गरे । 

सांसद शक्तिबहादुर बस्नेतले चौरजहारी विमानस्थलमा नेपाल वायु सेवा निगमले दिँदै आएको हवाई सेवा बन्द भएकाले त्यसलाई पुनः सञ्चालनका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाई नभएको गुनासो गरे । सांसद सत्य पहाडीले प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउन माग गरे । सांसद डा सूर्य पाठकले बाग्लुङको निर्माणाधिन सडकमा निर्माण व्यवसायीले प्रभावकारी काम नगरेका कारण स्थानीयबासीले दुःख पाएकोमा आपत्ति भएको बताए ।

शुन्य समयमा सांसदहरु सीताराम महत्तो, सरिताकुमारी गिरी, नारायण शर्मा खनाल, शिवमाया तुम्वाहाम्फे, विष्णु शर्मा, लालबहादुर थापा र लक्ष्मी परियारले विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका हुन् ।