नेप्से परिसूचकमा झण्डै २५ अङ्कले

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर २ हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ । कूल २ सय २१ कम्पनीको ६४ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १४ अर्ब ६८ करोड ५ लाख ४३ हजार ५ सय ३६ बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ८२ लाख ४७ हजार आठ सय ८८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु आठ करोड ६८ लाख ५२ हजार छ सय ९२, हिमालयन डिस्टिलरी रु पाँच करोड ८७ लाख ७९ हजार एक सय २९, महालक्ष्मी विकास बैंक रु पाँच करोड ८७ लाख २४ हजार ९ सय तीन, नेपाल दूरसञ्चार कम्पनी ५ करोड ६१ लाख ७१ हजार पाँच सय ५० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर ९ दशमलब ९९, स्वाभिमान लघुवित्त ४ दशमलब शून्य दुई, कुमारी इक्विटी फण्ड २ दशमलब ८१, सिद्धार्थ इक्विटी फण्ड २ दशमलब १०, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले एक दशमलब ९१ प्रतिशतले कमाउन सफल भएको छ । युनिलिभर नेपाल पाँच दशमलब ६२, दोर्दी खोला जलविद्युत् कम्पनी पाँच दशमलब ५१, पञ्चकन्या माई हाइड्रोपावर पाँच दशमलब ४७, जोशी हाइड्रोपावर ५ दशमलब ४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले पाँच दशमलब ३२ प्रतिशतले गुमाएका छन् ।