चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, तीनको मृत्यु

काठमाडौँ । आजा चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो ।

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिइएको छ । ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा लिइएको छ ।

यस्तै पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिइएको हो । । घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन् ।