लागुऔषध कारोबारीको जालो तोड्दै धनुषा प्रहरी

काठमाडौँ । लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गरेको छ ।

धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे हाइड्रोक्लोराइड ११ पतासहित साहलाई पक्राउ गरेको हो । 

भारततर्फ पठाउन प्लाष्टिकको झालोमा प्याकिङ गरिएको अवस्थामा गाँजासहित सदालाई पक्राउ गरेकै दिन प्रहरीले  जनकपुरधाम उपमहानगरपालिका–१० बाट २६ वर्षीय रविकुमार रायमाझीलाई पनि सोही अभियोगमा पक्राउ ग¥यो । शङ्का लागेर जाँच गर्दा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ३० ट्याब्लेटसहित रायमाझीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 

गत साउन १४ गते प्रहरीले नाइट्रोभेट ट्याबलेट पाँच सय २५ पिससहित जनकपुर उपमहानगरपालिका–५ देवानपोखरीबाट धनुषाको मिथिला नगरपालिका–६ तारापट्टी २७ निवासी प्रवीण यादवलाई पक्राउ गरेको थियो भने साउन १२ गते एकै दिन लागुऔषधसहित तीन जनालाई प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१९ बेंगाशिवपुर निवासी २० वर्षीय लक्ष्मेश्वर यादव, जनकपुरधाम उपमहानगरपालिका–१ निवासी १९ वर्षीय इब्रान नदाफ र धनुषाको विदेह नगरपालिका–३ निवासी १९ वर्षीय अतुल झालाई पक्राउ गरेको थियो ।

प्रहरीले धनुषामा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्दै आएका छन् । जिल्लामा ब्राउन सुगरको कारोबार गर्दै गर्दाको अवस्थामा त्यससँग संलग्न व्यक्तिसमेत पक्राउ पर्न थालेका छन् । साथै सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई प्रहरीले लगभग दिनहुँ पक्राउ गरिरहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रहरीले करिब चार हजार थान विभिन्न प्रकारका लागुऔषध तथा तीन सय केजी गाँजासहित एक सय तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।  उनका अनुसार सो अवधिमा लागुऔषधसहित सात स्वदेशी महिला, ९२  स्वदेशी र चार विदेशी पुरुषलाई पक्राउ गरिएको थियो । सो अवधिमा जिल्ला प्रहरीले लागुऔषध कारोबारका ७७ थान मुद्दामा अदालतको आदेशबाट ४७ जना पुर्पक्षका लागि कारागार गएका र ५३ जना धरौटीमा छुटेका थिए । 

यसअघि आर्थिक वर्ष २०७७/०७८ मा करिब छ हजार थान विभिन्न प्रकारका लागुऔषध तथा ४० किलो गाँजासहित एक सय जनालाई पक्राउ गरिएको थियो ।  खुला सीमानाकाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने जयनगर, जटहीलगायत नाका हुँदै  लागुऔषध राजधानी काठमाडौँसम्म पुग्ने गरेका थिए ।   सीमावर्ती भारतीय बजारमा पुगेर लागुऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवा जमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्ष्य गरेर जाँचलाई कडाइ गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागुऔषधका सामग्री बरामद हुने गरेको बताइन्छ । 

गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागुऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ । भारतबाट भित्रिने लागुऔषध र धनुषामा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न विशेष अभियान नै चलाउँदै आएको प्रहरी उपरीक्षक रजौरेको भनाइ छ ।