सडक मर्मतमा तीब्रता

काठमाडौँ । अविरल वर्षाले नालीको पानी जमेर पहिरो जाँदा क्षतिग्रस्त भएको पासाङल्हामु मार्ग पुनःनिर्माण गर्न थालिएको छ । गत साउन २५ गते राति भिषण वर्षाले बनुवा घुम्ती नजिकको सडक बगाएपछि बन्द भएको सवारी आवागमन छिटो सञ्चालन गराउन डिभिजन सडक कार्यालयले ग्याविन पर्खाल बनाएर पुनःनिर्माण गर्न थालेको हो ।

कार्यालयका प्रमुख अमृतमणि रिमालका अनुसार दैनिक २० मिस्त्रीद्वारा ग्याविन भर्ने काम हुँदै आएको छ । सवारीसाधन गुडाउन ३० मिटर लामो लम्बाइ एरियामा २० मिटर चौडाका दरले ग्याविन पर्खाल लगाउन पर्ने उनले बताए ।

मुख्य सडक बन्द हुँदा आमभञ्ज्याङ, सिम्ले, थुम्को, बेलचौर, तारूके, कदमघारी हुँदै धारापानीसम्मको छ किमी ग्रामीण सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गरिए पनि त्यहाँ साँघुरा मोड भएका कारण ससाना मात्र सवारीसाधन गुडिरहेका उक्त कार्यालयले जानकारी दिइएको छ ।

डाइभर्सन गर्ने स्थान नहुँदा प्रमुख मार्ग खुलाउन ढिलो भएको बताउँदै सडक प्रमुख रिमालले ग्याविन पर्खालकै भरमा सडक पुनःनिर्माण गर्नुपर्ने भएकाले सडक खुलाउन कम्तीमा एक महिना लाग्ने र बडादसैँअगावै यातायात सञ्चालन हुने जानकारी दिए ।