चर्को ब्याजदरमा ऋण दिएर शोषण गरेको आरोपमा साह पक्राउ

काठमाडौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ । साहले गाउँलेहरूलाई चर्को ब्याजदरमा ऋण दिएर शोषण गरेको तथा ठगी जालसाजीको आरोपमा प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

भंगहा नगरपालिका ५ सिद्धपुरस्थित उनको घरबाटै पक्राउ गरिएको महोत्तरी प्रहरीले जानकारी दिइएको छ । ऋणको १२ गुणासम्मको तमसुक बनाउने, ब्याजमाथि ब्याज असुल गर्ने र सम्पति हड्पने गरेको गुनासो ऋणीहरूले गर्दै आएका थिए ।

भंगहा नगरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म मिटर ब्याजमा ऋण दिने र विपन्न परिवारको उठिबास बनाएको गुनासो बढेपछि उनलाई पक्राउ गरिएको हो । ऋण दिएकै आधारमा महिलाहरूमाथि यौन शोषण समेत गर्ने गरेको पनि उनीमाथि आरोप लागेको छ ।