नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै छन् । टि–२० र एकदिवसीय क्रिकेट खेल्न क्रिकेट टोली सोमबार केन्या जाँदै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली सोमबार अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जानकारी छ । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाई गर्ने छ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन् ।

नेपाल र केन्याबीच ५ खेलको टि–२० सिरिज हुने भएको छ । त्यसपछि एकदिवसीय सिरिज हुने भएको छ । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

नेपालले केन्यासँग ५ खेलको टि–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ । ५ खेलको टि–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुने भएको छ । ३ खेलको एकदिवसीय सिरिज भने यहि भदौ १७ बाट २० सम्म चल्ने भएको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।