पहिलोपल्ट मतदान गर्दै कैदीबन्दी, कारागारमै मतदान केन्द्र

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो र जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी कुल २६ हजार १ सय २९ कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।

निर्वाचन आयोगले यस पटक कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउँदै छ । २०७९ मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदै छ । त्यसका लागि गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति निर्वाचन सुरक्षा योजना निर्माणका क्रममा छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कैदीबन्दीलाई जनप्रतिनिधि चयनमा सम्भवतः पहिलो पटक मतदान अधिकार प्रदान गर्न लागिएको बताए । यसका लागि आयोगले ७१ वटा कारागारलाई मतदान स्थल तोकेर मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी खटाइने बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले भने, ‘अरू ८ जसरी मतदान हुन्छ, यस पटक ७१ वटा कारागार कार्यालयलाई पनि मतदान स्थल तोकेर त्यसैगरी मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी खटाइन्छ, त्यसका लागि आयोगले आवश्यक तयारी गरिरहेको छ ।’

नेपाल प्रहरीले देशभरका ७१ कारागारलाई ‘कारागार निर्वाचन मतदान स्थल’ बनाएर प्रत्येक कारागारमा निर्वाचन प्रयोजनका लागि ३ प्रहरी र ५ म्यादी प्रहरी खटाउन सकिने प्रस्ताव अघि सारेको छ । निर्वाचन आयोगले ७१ वटा कारागारलाई मतदान स्थल बनाउने गरी खाका बनाइसकेको छ । प्रतिनिधिसभातर्फ १ सय ६५ प्रत्यक्ष, १ सय १० समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक ३ सय ३० सिटका लागि मतदान हुनेछ ।