निर्वाचन सुरक्षाका लागि सेनाका हतियार

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनासँग झन्डै २ हजार ५ सय साना हतियार मागिएको छ । नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिइएको छ ।

आवश्यक हतियार नेपाली सेनासँग बालगिरी काम सकिएपछि फिर्ता गर्ने सर्तमा साना हतियार लिने तयारी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको छ।

निर्वाचन सुरक्षाका लागि कुन जिल्लामा कति हतियार आवश्यक छ भन्नेबारे यकिन गरी प्रहरी प्रधान कार्यालयले सेनाबाट लिने हतियार सिधै प्रदेश प्रहरी कार्यालयमार्फत उपलब्ध गराउने गरी समन्वय भइरहेको छ । सेनाबाट हतियार लिन र फिर्ता गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश तहबाट लिने र बुझाउने गरी प्रस्ताव गरिएको प्रहरी मुख्यालयले जानकारी दिएको छ ।

नेपाली सेनाका चारवटा कमान्ड मुख्यालय, बाहिनी, गण र गुल्ममा प्रयोग भइरहेका साना हतियार लिने तयारी गरिएको हो। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सम्पन्न गर्दा मतदान स्थल, मतदान केन्द्र र मतपेटिकाको सङ्ख्या वृद्धि गर्नुपर्छ। यस पटकको निर्वाचनमा झन्डै पाँच लाख नयाँ मतदाताको सङ्ख्यासमेत वृद्धि भएको छ।

आगामी निर्वाचनमा देशभर २२ हजार ५ सय ३४ मतदान केन्द्र रहने र त्यसको सुरक्षाका लागि ७१ हजार ६ सय ९३ प्रहरी र १ लाख २० हजार म्यादी प्रहरी परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। म्यादी प्रहरी भर्ना गर्दा पूर्वसुरक्षाकर्मीलाई प्राथमिता दिने तयारी गरिएको छ।