नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेश २९ खेलमा सहभागी हुने

काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागि हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको बताएको छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिएका छन् । उनका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल महिला–पुरुष, कराते, बक्सिङ, तेक्वान्दो, फुटबल महिला–पुरुष, क्रिकेट, आइटिएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तलन, शारिरीक सुगठनमा सहभागिता हुनेछन् । त्यस्तै कुस्ती, हेण्डबल महिला–पुरुष, टेबलटेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको, जिम्न्यास्टिक खेलका प्रतिस्पर्धामा भाग लिनेछ ।

लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, ४ रजत र १७ कास्यसहित २४ पदक जितेको थियो । यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारले स्वर्णपदक विजेतालाई २ लाख, रजत पदक विजेतालाई १ लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।