अदालतबाट ६१ लाख जरिवना भएका एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार ८ सय ७५ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुँवर रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र रु ६१ लाख ५४ हजार ८ सय ७५ जरिवना ठहर गरेपछि फरार भएका उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैकिङजन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई सुन्धाराबाट पक्राउ गरी जानकारी दिए ।

पक्राउ कुँवरले एनआईसी एसिया बैंक लिमिटेड सोह्रखुट्टेको खातामा पर्याप्त रकम नहुँदा नहुँदै खाली चेक दिएर बैंकिङजन्य कसुर गरेको ब्यूरोको आरोप छ । । पक्राउ कुँवरलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता थापाले बताएका छन् ।