इन्द्र खोज्न निस्किएको ऐरावत हात्ती

काठमाडौँ । इन्द्रजात्रा सुरु भएसँगै काठमाडौंका टोल र गल्लीमा इन्द्र खोज्न ऐरावत हात्ती निस्किएका छन् । स्वर्गका इन्द्रको कथासँग जोडिएको इन्द्रजात्रामा पुलुकिसिको उपस्थितिले स्वर्गका इन्द्र र यो जात्राको सम्बन्ध रहेको छ ।

किवंदन्ती अनुसार पुलुकिसी इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक हो। इन्द्र ऐरावत हात्ती चढेर आमाका लागि पारिजात फूल लिन काठामाडौं आएका थिए। मरु टोलको भौ क्यबः फुलेको फूल लिनको लागि आएका इन्द्रले आफ्नो वाहन हात्तीलाई किलागःलमा बाँधेर गएका थिए।

पुलु अर्थात् बाँसको चोयाले शरीर बनाइने भएकाले पुलुकिसि र यसको घाँटीमा झुण्ड्याइएको घण्टको निरन्तर आवाज टङ्टङ् (तानाताना) आइरहने भएका कारण यसलाई ‘तानाकिसि’ पनि भन्ने गरेको पाइन्छ। किलागल टोलका महर्जन समुदायबाट निकालिने पुलुकिसिलाई स्थानीयले तानाकिसि पनि भन्ने गरेको पाइन्छ।

मानवको भेषमा आएका इन्द्रलाई फूल चोर्न आएको आरोपमा त्यहाँका स्थानीयले समातेर राखे। यता ऐरावत हात्ती भने मालिकको प्रतिक्षामा बसिरहयो। लामो समयसम्म आफ्नो मालिक आइनपुगेपछि व्यग्र भएर ऐरावत मालिक खोज्छ हिँड्छ। यसरी जाँदा हात्तीलाई स्थानीयले पिछा गर्छन्। यसरी आफ्नो मालिक इन्द्र खोज्न गएको प्रतीकको रुपमा पुलुकिसि निकाल्ने परम्परा छ।