बेलायत क्यानडा पठाउने भन्दै ठगी बढ्दै, एडुकेशन कल्सल्टेन्सी विरुद्ध उजुरी

काठमाडौँ । पछिल्लो समय क्यानडा, बेलायत लगायतका राम्रा देशमा रोजगारीका लागि पठाईदिने भन्दै ठगी गर्नेहरुको संख्या क्रमश बढ्दै गईरहेको प्रहरीको तथ्यांकले देखाएको छ । विहिबार बेलायत पठाईदिने प्रलोभनमा १३ लाख ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेपछि रोजगारीका नाममा ठगहरुको संख्या बढ्न थालेको देखिन्छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई विहीबार पक्राउ गरेको हो ।

पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो । पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै बानेश्वर क्षेत्रमा खुलेका शैक्षिक केन्द्र (एडुकेशन कन्सल्टेन्सी) हरुले पनि क्यानडामा विद्यार्थीका रुपमा पठाउने र त्यही बसोबास गर्ने गरी पिआर मिलाउने भन्दै विद्यार्थीहरुलाई ठगी गर्न थालेको उजुरी नेपाल प्रहरीमा परेको छ । विद्यार्थीहरुलाई पिआरका लागि नक्कली विहे गराउने कार्य समेत त्यस्ता केन्द्रले गर्दै आईरहेको प्रहरीको तथ्यांकमा छ । पछिल्लो समय क्यानडाका उच्च शिक्ष हासिल गर्न जानेहरुको आकर्षण बढेपछि एक दर्जनभन्दा बढी एडुकेशन कन्सल्टेन्सीको धन्दा नै त्यही नै भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बानेश्वर, बागबजार, पुतली सडकमा केही कन्सल्टेन्सीका विरुद्ध उजुरी परेको भएपनि अनुसन्धानका क्रममा रहेका नाम भने सार्वजनिक गरिएको छैन ।