क्यानाडा लैजाने बहानामा कन्सल्टेन्सीको लूट, पीडितहरु संगठित हुँदै

काठमाण्डौ । सिसाले छेकेको क्याबिनभित्र २ जना युवायुवती छलफल गर्दैछन् । बाहिर पनि २ जना भित्री क्याबिनबाट बोलावट आउने प्रतिक्षामा छन् । नोटिस बोर्डमा क्यानाडा भिसा लागेको केही थान पेपर टाँसिएका छन् । यो दृश्य हो, वानेश्वर स्थित एक कन्सल्टेन्सीको।

करिब एक घन्टा कुर्दा पनि भित्रबाट बोलावट आउने छनक देखिएन । फ्रन्ट डेस्कमा बसेको कर्मचारीले पनि केही बेर ध्यान कम्प्यू्रटरमा दिँदै सेवाग्राहीसँग हजुर आफै जाने कि डिपेन्डेन्ट भएर जाने भन्दै सोध्न थालिन् । असहज लागेपछि संवाददाता उठेर हिड्यो ।

पछि उक्त कन्सल्टेन्सीको अफिसियल फोनमा सम्पर्क गरियो । मैले आफू होइन, मेरो भाइको लागि भनेर कुरा गरें । त्यहाँका कर्मचारीले भाइको शैक्षिक योग्यता, अंगे्रजी भाषाको दक्षता आदिमा सामान्य कुरा सोध्दै भने, ‘यदि उहाँले आफै अप्लाई गर्ने क्राइटेरिया पुगेन भने डिपेन्डेट भएर जाँदा पनि भयो’ अरु सोध्न नपाउँदै उनले भरोसा दिलाउँदै फेरि भने, ‘बरु उहाँको लागि डिपेन्डेन्ट लैजाने केटी हामी नै खोजिदिउँला, हामीकहाँ डिपेन्डेन्टवाला केटा र केटी धेरै आउँछन् ।’

समाचारपछि धम्की

दुई साताअघि कन्सल्टेन्सीहरुले शैक्षिक परामर्शको नाममा नक्कली विहे गराउने, अचाक्ली पैसा उठाउने, सरकारी तथा निजी कम्पनीहरुको नक्कली छाप, लेटरप्याड बनाउने, नक्कली बैंक स्टेटमेन्ट बनाउनेजस्ता धन्दाहरुको बारेमा इकालोपाटी अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार आएपछि आफूहरुले गरेको गलत धन्दाको सफाइ दिनुभन्दा पनि यी कन्सल्टेन्सीको नजिकको मान्छे तथा कर्मचारी हुँ भन्दै केही व्यक्तिहरुले यस मिडियाका सम्पादकलाई फोनमार्फत् धम्की दिने प्रयास नगरेका होइनन् ।

कन्सल्टेन्सीको हवाला दिँदै वाग्ले थरका व्यक्तिले धम्कीको भाषामा फोनमा भने, ‘हामी क्यानाडाको पिआर, वर्क पर्मिटवाला काम गर्ने नम्बर एक कन्सल्टेन्सी हो । यो काम गरेको धेरै वर्ष भयो । हामीले यही कामबाट मनग्गे पैसा कमाएकोे देखि नसहेकाहरुले समाचार छपाए ।’
उनको टिप्पणीप्रति यस मिडियाका सम्पादकले प्रश्न गरे, ‘तपाईहरु शैक्षिक परामर्श दिने भनेर कम्पनी खोल्ने अनि म्यानपावर कम्पनीजस्तै काम गर्ने रु समाचार आइहाल्छ नि ।’ ती वाग्ले थरका व्यक्तिले फेरि चेतावनी दिँदै भने, तपाईले सकेको गरे हुन्छ, हाम्रो रौं पनि हल्लिदैंन ।’

फेसबुकमै सीमित क्यानाडा अफिस

ती वाग्ले थरका व्यक्तिले कन्सल्टेन्सीको सञ्चालक क्यानाडा बस्ने र उता पनि अफिस रहेको दावी गरे । तर क्यानाडामा इमिग्रेसनसम्बन्धी व्यवसाय गर्न यसका सञ्चालकले यही सम्बन्धी अध्ययन र विशेष लाइसेन्स लिनुपर्ने हुन्छ । यसका सञ्चालकहरुले यस्तो कुनै लाइसेन्स लिएको पाइएको छैन ।

प्राप्त सूचनाअनुसार, यसका सञ्चालकले आप्mनो क्यानाडियन अफिस रहेको जनाऊ दिँदै फेसबुक पेजमा विज्ञापन गर्दै आएका छन् । तर उनीहरुले क्यानाडा अफिस भनेर उल्लेख गरिएको ठेगानामा गुगल म्याप परीक्षण गर्दा त्यहाँ कुनैपनि यस्तो ठेगाना देखिएन । तपाईंले पनि यसैमा समाचारमा पोष्ट गरिएको तस्वीरमा उल्लेखित ठेगानालाई गुगल म्याप परीक्षण गर्न सक्नुहुन्छ ।

म्यानपावर एजेन्सीजस्तै खुलेआम विज्ञापन

शैक्षिक परामर्शको लागि भनेर नेपाल सरकारबाट अनुमति पाएको भनिएको कन्सल्टेन्सीहरुले म्यानपावर एजेन्सीले जस्तै खुलेआम विज्ञापन गरिरहेको छ । यसमा क्यानाडामा जागीर लगाइदिने भन्दै योग्यता खुलाएरै विज्ञापन गरिरहेको पाइएको छ ।

श्रम मन्त्रालय शैक्षिक परामर्श दिने कम्पनीले कामदार लैजाने क्रियाकलाप गर्ने, सामाजिक सञ्जालमा कामदार चाहियो भन्दै विज्ञापन गर्नेजस्ता कार्य निषेधित रहेको बताउँछ। उनले भने, ‘हामीले वर्क भिषाको नाममा अचाक्ली पैसा उठाउने, भ्रमयुक्त विज्ञापन गरेर सोझा युवायुवती लुट्ने कन्सल्टेन्सीहरुको हरेक क्रियाकलाप नियालिरहेका छौं । यस्ता कन्सल्टेन्सीका ग्राहक र यसबाट लुटिएकाहरुबाट सूचना लिने काम गरिरहेका छौं । चाँडै नै अनुसन्धानको लक्ष्यमा पुग्दैछौं ।’

क्यानाडामै छन् लूट समूह

यस्तो धन्दा गरेर सोझा युवायुवतीलाई लुट्ने, भ्रममा पार्नेजस्ता क्रियाकलापमा नेपालदेखि क्यानाडासम्मै लुट्नेहरु प्रायः नेपाली र भारतीय मूलका छन् । सामान्यतया क्यानाडा जानलाई जागीरको माध्यम तुलनात्मक रुपमा सजिलो मानिन्छ । जागीरको अफर पाउन सकियो थोरै अध्ययन र अंगे्रजीको मध्यम दक्षता भएपनि पुग्ने भएकोले जागीरको अफर लेटर किनेर अप्लाइ गर्न चाहन्छन् युवायुवतीहरु ।

तर जागीरको अफर लेटरको लागि रोजगारदातालाई पैसा खुवाउनुपर्ने हुन्न । जागीर लगाइदिएवापत पैसा माग्नु सजायको भागीदार हुनु हो । कम्पनीमा कार्यरत कर्मचारी र विचौलियाहरुले मनपरी डाक बढाबढमा पैसा माग्ने गरेकोले यस्तो रेट उच्च हुन पुगेको स्रोतले बतायो ।

अहिले फलानो कम्पनीमा कामदारको कोटा छ भन्दै डाक बढाबढमा पैसा माग्ने, जसले बढी दियो उसको प्रोसेस गराइदिने अभ्यास देखिएको छ । यसमा नेपाली गिरोह नै सक्रिय छन् । ओन्टारियो प्रान्तको लागि वर्क पर्मिट अप्लाइ गरिरहेका एक आवेदकले भने, ‘मसँग अरु भिसामा जाने योग्यता पुगेन, पैसा जति भनेपनि वर्क पर्मिटको विकल्प भएन ।’ उनीजस्तै चर्को मूल्य तिराइएको प्रान्तहरु सास्काचेवान, अल्बर्टा, ब्रिटिस कोलम्बिया, नोभा स्कोसिया, न्यू फाउण्डल्याण्ड, न्यू बु्रन्जुवीक र क्युबेक पनि छन् । होटल, रिटेल सेल्स, फिजियोथेरापी, कृषि, नर्सिंङ्ग, केयर गिभर, बेकरी, मासु कारखाना, कन्स्ट्रक्सनजस्ता पेशामा धेरै नेपालीको आवेदन पर्ने गरेको छ ।

किन बोल्न चाहँदैनन् आवेदक ?

दलालहरुले भने जति पैसा बुझाउन राजी भएपनि आवेदकहरु भिसा नलागुन्जेल बिचैमा दलालहरुबाट हलाल हुनुपर्ने अवस्था पनि रहन्छन् । प्रक्रिया भइरहेकै बेला, नोमिनेसन वा एलएमआईए आउने बेलासम्म पनि अरु कोही बढी पैसा दिने भेटियो भने पुराना आवेदक साइड लाग्नुपर्ने खतरा रहन्छ । अथवा, नोमिनेसन र एलएमआईए आयो, यति पैसा थप्ने भए थप, हैन भने अर्कै मान्छे हाल्दिन्छु भन्दै दलाली पनि हुन सक्छ । यस्ता दलालहरु नेपाली र भारतीय नै हुन्छन्, धेरै केसमा ।

क्यानाडा लगिदिने भन्दै एउटा तथाकथित कन्सल्टेन्टलाई १५ लाख बुझाएका युवा भन्छन्, ‘मैले हल्ला गरें, अब अगाडि बढ्दिन भन्यो भने पहिला बुझाएको पैसा फिर्ता हुन्न भनेका छन् ।’

अर्का युवा पनि भेटिए । उनले नेपाली गिरोहलाई पैसा बुझाएको वर्ष भइसकेछ । अहिले फिर्ता माग्दा मैले पैसा लिएको प्रमाण के छ भन्दै पन्छिरहेका छन् रे उनको क्यानाडियन एजेन्ट । उनी भन्छन्, ‘अब मैले सार्वजनिक रुपमा सामाजिक सञ्जालमा लेखूँ भने आफ्नै बेइज्जती होला भन्ने पीर छ । उनी ती एजेन्टको पुरा विवरण लिएर ठगी काण्डमा उजुरी गर्ने र सार्वजनिक बेइज्जती गर्ने तयारीमा छन् । ‘ मर्ता क्या नही कर्ता’ उनले भने ।

त्यसो त, भिसा रिजेक्ट भयो भने केही पैसा काटेर फिर्ता दिउँला भनेर वाचा गर्ने एजेन्टहरु पछि आफूले पैसा दिन नसक्ने, तैंले सकेको गर भन्दै धम्क्याउने गरेको बताइएको छ ।

धेरैजसो आवेदकहरु आफूलाई क्यानाडा इमिग्रेसनका तथाकथित एजेन्टहरुले गलत सूचना दिएर कालोसूचिमा पारिदेलान् भन्ने डरले पनि अनेक लफडा र तनाव सहेर बस्ने गरेका छन् । एक एजेन्टको चक्करमा परेका पीडितले ‘मैले उसले भने अनुसार पैसा बुझाएँ, अहिले मैले पैसा लिएको छैन, तँलाई चिन्दा पनि चिन्दिन’ भनेर थर्काउने गरेको सुनाए । ‘मैले चर्को व्याजमा ऋण लिएर उसलाई पैसा दिएँ, अहिले मैले पैसा उठाउन हम्मे परेको छ’ उनले भने । उनी केही दिन पर्खिने र ती एजेन्टको बुद्धि फिरेन भने लफडा गरिदिने भनेर सहेर बसिरहेका छन् ।

संगठित हुँदै पीडितहरु

त्यसो त कतिपय क्यानाडियन कन्सल्टेन्ट भनिएकाहरु सामाजिक सञ्जालमा मात्र कुरा गर्ने र पैसा लिएर चम्पट हुने गरेका छन् । ‘हामी अहिले बौद्धिक तरिकाले समस्या समाधान गर्न लागिरहेका छौं, नियत र नियतिले मान्छे फटाहा हुन्छ,’ क्यानाडामै बस्ने एक नेपालीलाई पैसा बुझाएर अल्झिरहेका युवाले भने ‘हामी केही दिन पर्खिन्छौं र यस्तो ठगीमा परेका युवाहरुको समूह बनाएर भण्डाफोर गर्न सार्वजनिक रुपमा आव्हान पनि गर्दैछौं ।’ उनी यस्तो ठगी धन्दामा क्यानाडादेखि भारतको पञ्जाब, नयाँ दिल्ली र कोलकातामा गिरोहहरु सक्रिय रहेको बताउँछन् । भिसा लागेपछि पैसा दिनू भन्दै दुई चार लाख लिने र नक्कली अफर, भिसा देखाएर बाँकी पैसा लुट्नेहरु छन् । यस्ता पीडितहरुको रोइलो सामाजिक सञ्जालमा दिनहुँ देखिन्छ ।