वार्षिक २ करोडको लप्सी बाहिरिने

काठमाडौँ । सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ ।

यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्रका अध्यक्ष राजकुमार भण्डारी बताउछन् ।

जिल्लाको २ सय ७० हेक्टर जमिनमा २ हजार १ सय मेट्रिकटन लप्सीे साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये ६ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष २ करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ । जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जानकारी दिएको छ ।

विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहनुभएका जीतबहादुर गिरीले वार्षिक ३ लाखको कारोबार गर्दै आएको बताएको छ । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उनको भनाइ छ ।

लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा ब्यवसायीकरुपमै यसको खेती गरिएको लघु उद्यमीसङ्घका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिएका छन् । यसबाट हाल ३ सय ३० जनाले रोजगारीको अवसर पाइरहेको र समयानुकूल व्यवसायलाई विस्तार गरी २ हजार जनालाई रोजगारीको अवसर दिलाउने कार्यक्रम रहेको उनले बताए ।