आर्थिक अवस्थाबारे विश्लेषण गर्न समिति गठन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन समिति गठन गरेका छन् । आइतबार मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल बैङ्कर्स सङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागितामा मन्त्रालयमा भएको बैठकमा नेपालको आर्थिक अवस्थाबारे छलफल भएको थियो ।

बैठकमा मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने बताए । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या रहेकाले यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताउद, “यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ । कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ उनले भने।

मन्त्री शर्माले चालू आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहो¥याउदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैङ्कले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको गोल्छाले बताए ।

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउनेछ ।